Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपी अधिकारी पुर्पक्षको लागि थुनामा


0
Shares

पोखरा, साउन २७ । बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन, पोखराका प्रमुख एवं एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मुद्दा पुर्पक्षको लागि मंगलबार थुनामा पठाइएको छ ।

मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

अधिकारीमाथि २७ वर्षीया एक महिलालाई लामापाटनस्थित तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

‘मौकाको जाहेरी दरखास्त, बारदातस्थल, बरामदी मुचुल्का, मौकामा बुझिएका मानिसहरुको कागज तथा अभियोगपत्रसाथ प्रेषित कल डिटेल्स एसएमएस संवादसमेतका मिसिल संलग्न तत्काल बुझिएका प्रमाण कागजहरुसमेतबाट यी प्रतिवादी निर्दोष रहेछन् भन्ने अवस्थाको विद्यमानजता नहुँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल प्रतिवादी राजेन्द्रकुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न सोही संहिताको दफा ८० बमोजिमको थुनुवापुर्जी दिइ जिल्ला कारागार कार्यालय कास्कीमा पठाइदिनू’ भन्ने आदेश भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र पेस भएको थियो ।

थुनछेक आदेशको लागि पेस भएको मुद्दामा सोमबार र मंगलबार गरी सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता गुरुदत्त वाग्ले, सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्मा र महेन्द्रप्रसाद अधिकारी तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा तथा अधिवक्ताहरु जगन्नाथ ढकाल, राम घिमिरे, मुकुन्द अर्याल, दीपेन्द्र अर्याल र कल्पना भण्डारीले बहस गरेको उपाध्यायले बताउनुभयो ।