Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


अमेरिकीसहित नेटो सैनिकको हत्या गरे रुसले विद्रोहीलाई पैसा दिने खबरप्रति मच्चियो खैलाबैला


0
Shares

एजेन्सी, असार १४ । अमेरिकी र अरु पश्चिमा सैनिकको हत्या गर्न तालिबान विद्रोहीलाई रुसले उक्साएको भन्ने खबरप्रति रुसले गम्भीर आपत्ति जनाएको छ ।

नेटो अन्तर्गतका अमेरिकी र अरु पश्चिमा देशका सैनिकको हत्या गरे तालिबानसम्बद्ध विद्रोहीलाई ‘पुरस्कार’ रकम दिने प्रस्ताव गरिएको भन्ने समाचार आधारहीन भन्दै रुसले खारेज गरेको हो ।

अमेरिकी पत्रिका दि न्यूयोर्क टाइम्स र दि वासिङ्गटन पोस्टले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसी सैन्य गुप्तचर इकाइले गत वर्ष विद्रोहीलाई त्यस्तो प्रस्ताव गरेको समाचार प्रकाशित गरेका थिए ।
उक्त आधारहीन खबरका कारण कूटनीतिज्ञमाथि जोखिम बढेको जनाउँदै अमेरिकास्थित रुसी दूतावासले भने न्यूर्योक टाइम्सले ‘फेक न्यूज’ लाई बढावा दिएको ट्वीट गरेको छ ।

तालिबानले पनि रुसी गुप्तचरसँग त्यस्तो कुनै सम्झौता वा सहमति नभएको जनाएको छ ।

रुसले तालिबान विद्रोहीलाई अमेरिकीसहित नेटो सैनिकको हत्या गरे पैसा दिने प्रस्ताव गरेकोबारे गत मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी नै गराइएको दाबी न्यूयोर्क टाइम्सले गरे पनि ह्वाइट हाउसले उक्त कुरा अस्वीकार गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकनेनीले यसबारे राष्ट्रपति र उपराष्ट्रपति दुबैलाई कुनै ब्रिफिङ्ग नभएको बताउनुभयो ।

एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले रुसी सेनाको गुप्तचर निकायले तालिबानलाई नेटो सेनामाथि हुने सफल आक्रमणका लागि मोटो रकम दिने प्रस्ताव गरेको दाबी गरेको थियो ।

सन् २०१९ मा अफगानिस्तानमा १९ अमेरिकी सैनिक मारिएका थिए । अफगानिस्तानमा अझै करिब १३ हजार अमेरिकी सैनिक छन् । त्यहाँ दुई दशकदेखि जारी द्वन्द्व अन्त्यका लागि तालिबानसँग वार्ताको प्रयास भइरहेका छ ।