३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भक्तपुर र काभ्रेका विभिन्न ठाउँ डुवानमा, राजमार्ग अवरुद्ध (भिडियो)


0
Shares

भक्तपुर, असार २८ । बुधवार देखि परेको अविरल वर्षाका कारण भक्तपुर र काभ्रेपलाञ्चोकका केही भाग डुवानमा परेका छन् ।

बाढी र पहिरोका कारण राजमार्गहरु पनि अबरुद्ध भएका छन् । अविरल वर्षापछि आएको बाढीले भक्तपुर डुबानमा परेको छ ।

भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् ।

लिवाली, भेलुखेल, सिद्धि स्मृति अस्पताल, राम मन्दिर, वाराही मन्दिर आसपास, राधेराधे, ठिमीलगायतका क्षेत्र डुवानमा परेका हुन् । घट्टे खोलामा बाढी आएका कारण आदर्शबाट भेलुखेल जाने पुल बगाएको छ ।

रातिदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । भक्तपुरका यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडिबुटीस्थित सुकुम्बासी वस्ती पुरै डुबानमा परेको छ ।

बाढीका कारण बागमती नदी आसपास काठमाडौंका केही ठाउँ पनि प्रभावित भएका छन् ।

काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेका छन् ।

पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मको भाग डुबानमा परेको हो । यहाँका धेरै घरमा पानी पसेको छ ।

यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग आज बिहानैदेखि ठप्प छ ।

काभ्रे भञ्ज्याङमा खसेको पहिरोले सडक अबरुद्ध भएको हो । यसैगरी बीपी राजमार्गका विभिन्न ठाउँमा पहिरो गएपछि यातायात ठप्प भएको छ ।