२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


महाकालीमा पानीको बहाव वर्षकै उच्च, भारतीय पक्षद्वारा चारपांग्रे सवारी आवागमनमा रोक


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, असार २७ । दुई दिनदेखि परेको वर्षाका कारण महाकाली नदीमा फेरि पानीको बहाव बढेको छ ।

डडेल्धुरालगायत चुरे क्षेत्रमा परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो ।

महाकाली नदीमा पानीको बहाव बुधबार अपराह्न २ लाख १५ हजार ११८ क्यूसेक पुगेको जिल्ला आपत्कालीन कार्यसन्चालन केन्द्रले जनाएको छ । यो यस वर्षको सबैभन्दा बढी हो ।

नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि भारतीय पक्षले पुलको सुरक्षाको कारण देखाउँदै वनबासा पुलमा चारपांग्रे सवारीका साधनको आवागमनमा रोक लगाउँदै आएको छ ।

महाकाली नदीको बाढीको पूर्वानुमानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ ।

जिल्ला आपत्कालीन कार्यसन्चालन केन्द्रकाअनुसार दार्चुलामा पानीको सतह सामान्य रहेपनि डडेल्धुराको परिगाउँमा भने पानीको सतहले सतर्कताको चिह्न नाघेको छ । दार्चुलामा अहिले पानीको सतह ३ मिटर ५ सेन्टिमिटर छ ।

दार्चुलामा ५ मिटर ८० सेन्टिमिटर नाघे चेतावनी र ७ मिटर नाघे खतराको संकेत मानिन्छ ।

डडेल्धुराको परिगाँउमा भने पानीको सतह ६ मिटर रहेको केन्द्रले जनाएको छ ।