
बेइजिङ, जेठ २७ । चीनमा एक वकिलको तस्वीरले निकै चर्चा पाएको छ । अदालतबाट निस्कदैं गर्दा धुजा–धुजा भएको पोशाकमा देखिएको एक वकिलको तस्वीर भाइरल भएको हो ।
उक्त तस्वीर क्विनशियु जिल्ला अदालत परिसरमा लिइएको हो । तस्वीरमा देखिएका वकिलको कपडा प्रहरीले च्यातिदिएको बताइन्छ ।
वु लियाङ्गशु नाम गरेका ती वकिलका अनुसार दुई न्यायाधीका सामुन्ने तीन प्रहरी अधिकारीले उनको कपडा च्यातेका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार जिल्ला अदालतका न्यायाधीशले वुको एक याचिका खारेज गरेका थिए । उनलाई नयाँ पोशाक लगाउन भनिएको थियो तर उनले सो प्रस्ताव अस्वीकार गरिदिए । च्यातिएको पोशाकमै अदालत परिसरबाट बाहिरिएका उनको तस्वीर सार्वजनिक भएको हो ।
उनको यो तस्वीरले धेरैजसो चिनियाँ नागरिकको ध्यानाकृष्ट गरेको छ भने चिनियाँ वकिलले सामना गर्नुपर्दै आएको परिस्थितिलाई पनि उजागर गरिदिएको छ ।
उनले भने, ‘मलाई यो कुरा नौलो लागेको छैन, मैले धेरै अनौठा र हिंस्रक घटना सुनेको थिए, चीनमा वकिलमाथि कस्तो घटना हुन्छन् भन्ने थाहा थियो तर म स्वयं त्यस्तो घटनाको शिकार बन्छु भन्ने सोचेको थिइनँ ।’
चिनियाँ अधिकारीहरुका अनुसार वुले अदालतका अधिकारीहरुको गैरकानुनी रेकर्डिङ्ग गरिरहेका थिए । सरकारी वकिलले उनको मोबाइल माग्दा उनले दिन अस्वीकार गरे । मोबाइल खोस्ने क्रममा सामान्य झडप भएको अधिकारीहरुको भनाई छ ।
चिनियाँ वकिलहरुको राष्ट्रिय संगठनले घटनाको वास्तविकता प्रकाश पार्न माग गरेको छ । अदालतभित्र भएको सो घटनाको विरोधमा करिब एक हजार वकिलले हस्ताक्षर गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्