
गौशाला, वैशाख २२ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१०, सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ ।
जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीकाअनुसार आइतबार बिहान करिब साढे १ बजेतिर जलेश्वर नगरपालिका–१०, सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार÷पाँचजनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।
उनकाअनुसार मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बांगो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।
चोरले ठाकुरको घरबाट सुनको दुई तोलाको हार एकथान, सुनको ६ आनाको झुम्का एकथान, सुनको चार आनाको औंठी एकथान, सुनको एक तोलाको टप एकथान, सुनको एक तोलाको मोती एकथान, सुनको दुई तोलाको हनुमानी दुईथान, सुनको दुई तोलाको बाला एक जोडी, चाँदीको ४० तोलाको हँसुली (घाँटीमा लगाउने गहना) एकथान, चाँदीको १८ तोलाको पाउजु दुईथान, नोकिया कम्पनीको मोबाइल दुईथान र नगद रु पाँच हजार गरी जम्मा रु पाँच लाख ६९ हजार बराबरको लुटपाट गरी लगेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
घटना घटेलगत्तै बिहान साढे २ बजे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विज्ञान बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र चोरको व्यापक खोजतलास गर्नुका साथै घटनाबारे विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
घरपरिवारका सदस्यलाई कुटपिट अथवा कुनै घाउचोट नपुर्याएकाले ती चोर चिनजानकै हुनुपर्ने प्रहरी उपरीक्षक कार्कीले दाबी गर्दै चाँडै ती चोर पत्ता लाग्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्