सुर्खेत, वैशाख २२ । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधि हात पारेको छ ।
फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले शनिबार हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पार्यो ।
वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग शनिबार सम्पन्न भएको हो ।
उपविजेता बनेको न्यू होराइजन बुटवलले भने रु दुई लाखमा चित्त बुझाएको छ ।
१४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रनमात्र बनाएपछि फराकिलो हार भोगेको हो ।
टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउँदा राहुल प्रजापतिले १२, सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान ३/३ विकेट हात पारे ।
टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमाएर १४६ रन बनायो ।
आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा तीन छक्कासहित अविजित २१ रनको आक्रमक पारी खेले ।
शक्ति गौचन सर्वोत्कृष्ट
बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले रु ५० हजार पुरस्कार प्राप्त गरे ।
आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजंग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान रु २० हजार पुरस्कार पाए ।
खेलाडीहरुलाई एक समारोहकाबीच नेपाल एथ्लेक्टिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले पुरस्कार प्रदान गरेका थिए ।
आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एकजनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो । वीरेन्द्रनगर–३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गरे ।
८ टिम सहभागी भएको प्रतियोगितामा १५ ओटा म्याच सन्चालन भएका थिए । रासस








प्रतिक्रिया दिनुहोस्