Logo १२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026


साढे दुई केजी चाँदीसहित दुईजना समातिए


0
Shares

हरि शर्मा (इमेज)

परासी, वैशाख २१ । पश्चिम नवलपरासीको महेशपुर नाकाबाट प्रहरीले साढे दुई केजी चाँदीसहित शुक्रबार दुईजनालाई पक्राउ गरेको छ ।

परासीबाट भारतीय बजार ठूठीबारी लैजानेक्रममा दुई केजी ५६० ग्राम चाँदीसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

तरकारी बोक्ने बोराको झोलामा लुकाएर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी, सरावल गाउँपालिका–४ घर भइ हाल रामग्राम नगरपालिका–४ बस्ने ४५ वर्षीया माधुरी गुप्ता र सोही नगरपालिका–१०, लक्ष्मीपुरका ५५ वर्षीय रामवृक्ष पासी छन् । उनीहरुले अर्कैको सामान पुर्‍याउने काम गरेको बताइएको छ ।

उक्त चाँदी भारतको ठूठीबारीस्थित एसएम टन्च हाउसमा पुर्‍याउन लागिएको रसिद फेलापरेको छ ।

सदरमुकाम परासीस्थित जय गणपति सुनचाँदी पसलका सन्चालक अर्जुनकुमार सुनारले उक्त चाँदी पठाएको पक्राउ परेका व्यक्तिलाई उद्धृत गर्दै प्रहरीले जनाएपनि आरोपित पसलका सन्चालक सुनारले भने आफूले कसैलाई चाँदी दिएर नपठाएको दाबी गरेका छन् ।

पक्राउ परेका व्यक्तिहरुमाथि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।