काठमाडौं, वैशाख १९ । युवा तथा खेलकुद मन्त्रालयले नेपाली खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री जगतबहादुर सुनार विश्वकर्माले उपाधि दिलाउने राष्ट्रिय क्रिकेट टोली र २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीसँगै शारीरिक सुगठन च्याम्पियन महेश्वर महर्जनलाई सम्मान गरेका हुन् ।
गत वर्ष युएईलाई एकदिवसीय र ट्वेन्टी–२० शृंखलामा पराजित गरेको क्रिकेट टोली सम्मानित भएको हो ।
खेलाडीहरुलाई जनही पाँच लाख, प्रशिक्षकलाई तीन लाख र अरु सदस्यहरुलाई जनही दुई लाख रुपैयाँ दिइएको हो ।
त्यसैगरी, सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्ने नेपाली युवा फुटबल टोली पुरस्कृत भएको छ ।
सरकारले तत्कालीन अवस्थामै स्वर्णपदक विजेता खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेपनि दुई लाख दिएर टारेको थियो । अहिले बाँकी तीन लाख रुपैयाँ दिइएको हो ।
खेलाडीहरुले आशा मारेको रकम पाउँदा खुसी व्यक्त गरेका छन् ।
त्यस्तै, गत डिसेम्बरमा थाइल्यान्डको चेनमाइमा भएको १०औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजीमा स्वर्णपदक जितेर यति ठूलो सफलता हासिल गर्ने एक्लो नेपाली खेलाडी बनेका महेश्वरलाई सरकारले पाँच लाख रुपैयाँसहित पुरस्कृत गरेको हो ।
सरकारले खेलाडीहरुलाई एक करोड ५६ लाख रुपैयाँ प्रदान गरेको हो ।








प्रतिक्रिया दिनुहोस्