
काठमाडौं, असार १३ । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चिलीसँग पराजित भएलगत्तै उनले यस्तो घोषणा गरेका हुन् । मेसीले अब अर्जेन्टिनाका लागि फुटबल खेल्ने छैनन् ।
चिली र अर्जेन्टिनाबीच भएको फाइनल म्याचमा निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको थियो । यसक्रममा मेसीले पेनाल्टीमा गोल गर्न असफल भएका थिए । जसका कारण अर्जेन्टिना ४–२ ले पराजित भएको थियो ।
अघिल्लो वर्ष पनि कोपा अमेरिकामा अर्जेन्टिना चिलीसँग नै टाइब्रेकरमै पराजित भएको थियो । तर त्यतिबेला अर्जेन्टिनाका लागि मेसीले मात्र गोल गरेका थिए भने अन्य खेलाडी असफल भएका थिए ।
व्यावसायिक फुटबलमा निकै सफल मानिएका मेसीले आफ्नो मुलुकलाई कुनै उपाधि दिलाउन सकेनन् । उनले सन् २००७ मा पनि कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई उपाधि दिलाउन सकेनन् ।
सन् २००८ मा भएको ओलम्पिकमा अर्जेन्टिनाले गोल्ड मेडल हासिल गरेको थियो । मेसी उक्त टिमका सदस्य थिए । त्यसबाहेक मेसीको सहभागितामा अर्जेन्टिनाले कुनै ठूलो उपाधि हात पार्न सकेन ।
उता, मेसीले व्यावसायिक फुटबलका क्रममा भने आफ्नो क्लव बार्सिलोनालाई निकै महत्वपूर्ण उपाधि दिलाएका छन् । मेसीकै योगदानमा बार्सिलोनाले ८ पटक स्पेनिश ला लिगाको उपाधि हात पारेको छ भने ४ पटक युइएफए च्याम्पियन्सको उपाधि हात पारेको छ ।
मेसी ५ पटक फिफा वर्ष खेलाडी घोषित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्