
ध्रुवसागर शर्मा
म्याग्दी, असार २७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको तितरमा गएराति आएको भीषण पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाउने प्रयास भइरहेको शर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाईजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
अवरुद्ध सडकको माटो र ढुङ्गा पन्छाउन मेसिन प्रयोग गरिएको छ । पहिरो बस्तीबाट टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् ।
४ नम्बर प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको सडक विस्तारको क्रममा ठाउँठाउँमा पहिरोको सम्भावना देखिएको छ ।
सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले अनुरोध गरेको छ । सडक निर्माणको जिम्मेवारी लिएकाले समेत अवरोध समयमै पन्छाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्