काठमाडौं, वैशाख १६ । केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् ।
सोमबार ललितपुरको लगनखेलस्थित आर्मी कभर्डहलमा भएका सेमिफाइनलमा सहज जित निकाल्दै आर्मी र सशस्त्रले उपाधि भिडन्त पक्का गरेका हुन् ।
आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । आर्मी २१–२५, २५–१८, २८–२६ र २५–१३ को सेटमा विजयी भयो ।
त्यस्तै, सशस्त्रले न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्यो । सशस्त्र २५–१६, २५–२० र २५–१६ को सेटमा विजयी भयो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उपाधि भिडन्त मंगलबार हुनेछ ।
विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्