Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बेलायतमा मैत्रीपूर्ण क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा


0
Shares

काठमाडौं, असार २० । बेलायतको मेरिलेबोन क्रिकेट एकेडेमी एमसीसीसँग मैत्रीपूर्ण खेलका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

आइसीसीका प्रतिनिधि सम्मिलित छनोट समितिले बेलायत भ्रमणमा जाने १५ सदस्य नेपाली टोलीको घोषणा गरेको हो । विश्व क्रिकेट लिग च्याम्पियन्सीपअन्तर्गत अर्को महिना नेदरल्याण्ड्सबिरुद्ध हुने खेलको तयारी गर्न नेपाली टोली एमसीसीसँग मैत्रीपूर्ण खेल खेल्न बेलायत जान लागेको हो ।

नेपाली टोलीमा कप्तान पारस खड्काका साथै उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, शरद भेषावकर, बिनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, अनिल मण्डल, सन्दिप लामिछाने, बिक्रम सोव, राजु रिजाल र राजेश पुलामी मगर छन् । टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

नेपाली टोली आगामी असार २७ गते बेलायत जाने छ । बेलायत टुर सकाएर स्वदेश फर्किएपछि नेपाली टोली बिश्व क्रिकेट लिग खेल्न नेदरल्याण्ड्स जाने छ । एमसीसीसँगको प्रदर्शनका आधारमा नेदरल्याण्ड्ससँग खेल्ने अन्तिम टोलीको टुंगो लाग्ने खेलाडी छनोट समितिले जनाएको छ ।

बेलायत र नेदरल्याण्ड्सको हावापानी र मैदानको कण्डिसन मेल खाने भएकाले बेलायत टुर निकै फलदायी हुने विश्वास नेपाली टोलीले लिएको छ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आइसीसीलेनै नेपाली टोलीले खेल्ने अन्तर्राष्ट्रिय खेलको सम्पूर्ण ब्यबस्थापन गर्दै आइरहेको छ ।