२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


‘सदन सरकार बनाउन र गिराउन व्यस्त, बाढी, डुबान र पहिरोले जनताको बिचल्ली’


0
Shares

                                                            फाइल फोटो

काठमाडौं, साउन ११ । निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भू–भाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढी–पहिराले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहतकाबारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन् ।

व्यवस्थापिका–संसदको मंगलबारको बैठकको विशेष समयमा उनीहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढी–पहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पुर्‍याउनसमेत ध्यान नदिएको गुनासो गरे ।

सभामुख ओनसरी घर्तीसित समय लिइ सांसदले बाढीपीडित जनताले एकमुठी चामल, नुन, त्रिपाल देऊभन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाए ।

बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्नसमेत उनीहरुले माग गरे ।

सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुुबान तथा बाढीपीडितलाई सरकारले राहत पुर्‍याउन नसकेको आरोप लगाए ।

सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भू–भाग डुबानमा परेको हुँदा सरकारले उद्धार तथा राहत पुर्‍याउन नसकेको बताए ।

सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौं जनता बिचल्ली परेको जानकारी दिए ।

सांसद डा. सुबोधकुमार पोखरेलले ‘संविधान कार्यान्वयनमा प्रमुख दलका शीर्ष नेताको ध्यान जानुपर्छ’–भने ।

सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले ‘तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी हुन्छ तर पूर्वतयारी केही हुँदैन’–भने ।

सांसद डिल्लीराज काफ्लेले ‘सरकारले बाढी–पहिरोपीडित जनतलाई राहत र उद्धारमा ध्यान दिनुपर्छ–भने ।

सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गरे ।

सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षात्ले पहिरो जाँदा एकजनाको मृत्यु भएको बताउँदै अन्नभन्डारको क्षेत्रकारुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।

सांसद सकलदेव सुतियारले ‘सप्तरी जिल्लाको गोबर गाँडागाउँ पूरै डुबानमा परेको हुँदा उद्धारमा सरकारको ध्यान जाओस्’–भने ।

सांसद क्रृषिकेश पोखरेल, नरसिंह चौधरी र अशोककुमार मण्डलले सरकारले बाढी–पहिरो र डुुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्सेनि यस्ता समस्या आउने गरेको बताए ।

सांसद हरिप्रसाद नेपालले कालीगन्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्चजोखिममा परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलशोभा पुन र सीताराम महतोले बाढी–पहिरो र डुुबानपीडितलाई राहत पुर्‍याउन माग गरे । रासस