नेपालगन्ज, वैशाख ११ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंहले १२ स्वर्णपदक जितेकी छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी छन् ।
उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्णपदक जित्न सफल भएको बताइन् ।
‘राष्ट्रिय खेलकुदमा जितेको पदकले थप हौसला मिलेको छ’–उनले भनिन् ।
गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइल २७.५९ सेकेन्डमा पूरा गरिन् । यसअघि, उनले सो दूरी २७.८१ सेकेन्डमा पूरा गरेकी थिइन् ।
यस्तै, १०० मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्णपदक जितेकी हुन् ।
उनले सो दूरी एक मिनेट ८.६२ सेकेन्डमा पूरा गरिन् । यसअघि, गौरिकाले सो दूरी एक मिनेट ९.३० सेकेन्डमा पूरा गरेकी थिइन् ।
गौरिकाले महिला २०० मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२.५१ सेकेन्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकन्डमा पूरा गरेकी हुन् ।
यस्तै, उनले महिला चार गुणा १०० मिटर रिलेमासमेत स्वर्णपदक जितिन् ।
यसअघि, पाँचौं राष्ट्रिय खेलकुदमा पौडी खेलाडी करिश्मा कार्कीले पनि १२ स्वर्णपदक जितेकी थिइन् । रासस








प्रतिक्रिया दिनुहोस्