फाइल फोटो
काठमाडौं, साउन १२ । नेपाली कांग्रेसले केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले बुधबार एक विज्ञप्ति जारी गरी बाढी–पहिरोबाट मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विस्थापित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
बेपत्ताको तत्काल खोजी गर्न, मृतक र विस्थापित हुन पुगेका पीडितको यकिन तथ्यांक सार्वजनिक गर्न तथा मृतकलाई क्षतिपूर्ति तथा विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग पुर्याउन कांग्रेसले सरकारसमक्ष आग्रह गरेको छ ।
साथै, कांग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई पनि पीडित परिवारको उद्धार र राहतकार्यमा आवश्यक सहयोग पुर्याउन पार्टी सभापति देउवाले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाबाट हजारौंको संख्यामा मानिस विस्थापित हुन पुगेको, हजारौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको, अधिकांश सडकमार्ग अवरुद्ध भइ यातायात प्रभावित भएकोप्रति पनि कांग्रेसको ध्यानाकर्षण भएको जनाएको छ । रासस





प्रतिक्रिया दिनुहोस्