काठमाडौं, साउन १४ । प्रधानमन्त्री केपी ओलीले नेपालले दुई छिमेकीमुलकबाट सार्वभौम र सम्मानपूर्ण सम्बन्ध चाहेको बताएका छन् ।
शुक्रबार राजधानीमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा उनले नेपालले एउटा छिमेकीलाई नजिक र अर्कोलाई टाढा राखेर व्यवहार नगर्नेसमेत स्पस्ट पारे ।
असल छिमेकी हुनुको नाताले नेपालको आन्तरिक मामिलामा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ थियो ।
नेपालको कुटनीतिक सम्बन्धलाई आवश्यकताअनुसार परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले छिमेकीसँगको पारस्परिक हितको सम्बन्धलाई सरकारले उच्चमहत्व दिएको पनि बताए ।
कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड दिए ।
राजनीतिक, आर्थिक, सामाजिक र व्यापारिक दृष्टिकोणले दुबै मुलुकको नेपालसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै उनले दुबै मुलुकको सम्बन्धको विषयलाई विवादित बनाउन नहुने बताए ।
नेपाली कांग्रेसकी नेत्री सुजता कोइराला, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मुलुकको सार्वभौमिकता र राष्ट्रियहितलाई केन्द्रमा राखेर दुई मुलकसँगको सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अरु वक्ताहरुले नेपालको परराष्ट्र नीतिको विषयमा सबै दलले समान धारणा बनाउनुपर्नेमा जोड दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्