२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्याग्दीका तामा र फलामखानी पुरिँदै


0
Shares

म्याग्दी, साउन १५ । म्याग्दीमा रहेका तामा र फलामखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् ।

लुलाङ र रुमको ढुंगाखानीबाहेक ताकम, गुर्जा, कुइने, ओखरबोटलगायत गाविसमा रहेका खानी पुरिन थालेका हुन् । खानीबाट धातु निकालिने धाउ पुरिएका छन् ।

छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गर्थे । ‘छन्त्याल जातिमा धातु भएको ठाउँ सुँघेर पनि थाहा पाउनसक्ने क्षमता भएको’ ताकमका चन्द्रबहादुर छन्त्यालले बताए ।

खानी उत्खनन् गर्ने यन्त्र उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तीन दशकयता खानी बन्द भएको नेपाल छन्त्याल संघ, म्याग्दीका पूर्वअध्यक्ष मुकुन्द छन्त्यालले बताए ।

जंगलका बीचमा पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुंगा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन् ।

खानी खनेर जीविकोपार्जन गर्दै आएका विभिन्न ठाउँमा बसोबास गर्ने छन्त्याल समुदाय परम्परागत पेसाबाट विस्थापित छन् ।

गुर्जा, ताकम, कुइनेमंगल, मल्कबाङ र भकिम्ली गाविसमा बसोबास गर्ने छन्त्याल समुदाय खानी उत्खनन् गर्ने परम्परागत पेसाबाट पूर्णरुपमा विस्थापित छन् ।

गत वर्षको जिल्ला परिषद्ले खानीको संरक्षण र उपभोग गर्न पहल गर्ने निर्णय गरेपनि सो विषयमा कुनै पहल हुन सकेको छैन ।

स्थानीयबासीको लगानीमा धातु उत्खनन् गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सन्चालन गर्नसके जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने छन्त्याल समुदायका अगुवा बताउँछन् । रासस