काठमाडौं, साउन १६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ११ औं महाधिवेशनको तयारीमा जुटेको छ । विभिन्न गुट, उप–गुट साथै अनेकौं विवादका बीच बिगत आठ बर्ष देखि हुन नसकेको महाधिवेशन यसपटक भने गराएरै छाड्नेमा आयोजकको दावी छ ।
यही साउन २३, २४ र २५ गते काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको महाधिवेशनको तयारी तिब्र रुपमा भइरहेको आयोजक समितिले बताउँदै आइरहेको छ । यसपटक महाधिवेशन हुने भन्दै कतिपय नेतृत्वका दावेदारहरु जिल्ला दौडाहामा छन् ।
प्रतिनिधि छनोट विवादका कारण पटक पटक स्थगित भएको महाधिवेशन केही दिनभित्रमा विवाद समाधान हुने संघका प्रवक्ता युपी लामिछानेले बताए । ‘आजको दिनसम्म पार्टी तथा सगठनको नेतृत्वले महाधिवेशन विधिसंवत गराउन लागिपरेको छ,’ उनले भने,‘ अनावश्यक वखेडा झिकेर संगठनलाई तहसनहस बनाउने र ‘व्यक्तिगत बार्गेनिङ’ गर्नेहरुका वीच चुनौतीका साथ तयारी भइरहेको छ ।’
विवाद समाधानका लागि बनेको कार्यदलका संयोजक लिलाबल्लव दाहाल ‘काका’ ले जुनसुकै हालतमा विवाद समाधान गरेर नेतृत्व हस्तान्तरण गर्दै संगठनलाई थप चलायमान बनाउने अभियानमा आफूहरु रहेको बताए ।
यद्यपी, महाधिवेशन आउन करिब एकसाता बाँकी रहँदा संघकै एउटा समूहले पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन सुरु गरेको छ । सभापतिको दावी गरिरहेका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले, महामन्त्रीका दावेदारहरु, युवराज पाण्डे, डिल्लीराम सुवेदी, सहमहामन्त्रीका दावेदार गणेश सापकोटा, उपाध्यक्षको दावी गरिरहेका डुजाङ शेर्पा, केन्द्रीय सदस्यका लागि दावी गरिरहेका शुसील भट्ट, शैलेन्द्र शर्मा गौंडेल, कुमार दुलाल, रबिन्द्र रोकाय लगायतको समूहले विधिवत महाधिवेशनको माग राख्दै अनसन सुरु गरेका हुन् ।
६४ जिल्लामा विवाद समाधान भइसके पनि ११ जिल्लामा प्रतिनिधि छनोटमा विवाद रहेकाले महाधिवेशन सम्पन्न गराउन समस्या उत्पन्न हुँदै आइरहेको छ । लामो समयको ग्यापका कारण पुरानो संस्थापन मानिने कोइराला–पौडेल, नयाँ संस्थापन मानिने देउवा र तेस्रो समूह मानिने सिटौला खेमाले प्रतिनिधि छनोटमा आ–आफ्नै बार्गेनिक गरेपछि संघ भित्र समस्या झनै जटिल बन्दै गइरहेको छ ।
आमरण अनसनकै समर्थक महामन्त्रीका आंकाक्षी डिल्लीराम सुवेदी भन्छन्, ‘अध्यारो कोठाबाट छनोट गरिने प्रतिनिधी र नेतृत्व हामीलाई मान्य हुनेछैन्, विधीसंवत तरिकाले प्रतिनिधीको टुंगो लगाउने र निर्वाचनमार्फत चयन हुने नेतृत्वको पक्षमा हाम्रो सदैव समर्थन रहने छ ।’
यता पार्टी सभापति शेरबहादुर देउवा भने सबै विवाद समाधान गरेर तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गराउने पक्षमा छन् । स्रोतका अनुसार महाधिवेशन उदघाटनसम्म गर्ने र प्रतिनिधीको सूचीसमेत नटाँसी भागबण्डाका आधारणमा नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको सोचाइ रहेको छ । तर चर्किदै गएको विवादका कारण महाधिवेशनसम्मै पुग्ने सम्भावना न्यून देखिन्छ ।
निर्देशन समिति के गर्दैछ ?
सम्पूर्ण विवाद मिलाएर महाधिवेशन सम्पन्न गराउन भनी पार्टी नेतृत्वले तोकेको महाधिवेशन निर्देशन समितिले तिब्र रुपमा काम गरिरहेको दाबी गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा बनेको समितिले हालसम्म प्रतिनिधीहरुको विवरण माग्ने र विधानमाथी छलफल गर्ने काम गरिरहेको समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
‘मिलाउने अन्तिम प्रयासमा छौं, उनले भने, ‘यदि विवादीत जिल्ला तथा क्याम्पस इकाइको समस्या नसुल्झे, विवाद नभएका जिल्लाहरुका प्रतिनिधि मार्फत महाधिवेशनको बाटो खुल्ला गरिने छ ।’ तर विवाद मिलेका जिल्लामा पनि ठूलो संख्यामा फर्जी प्रतिनिधि रहेका कारण तत्कालै विवाद मिल्न सक्ने अवस्था नरहेको बताइन्छ । हालको केन्द्रीय समिति भित्रै विभिन्न खेमा विभाजित रहेकाले समस्या थप चुलिएको छ ।
जिल्लाका प्रतिनिधिहरु अन्योलमा
विवाद समाधान भएका या नभएका सुदुर पूर्व देखि सुदुर पश्चिमका जिल्लामा रहेका महाधिवेशन प्रतिनिधिहरु यतिबेला रणभूल्लमा छन् । महाधिवेशन स्थान काठमाडौं तोकिएकाले कर्णालीका जिल्ला तथा ताप्लेजुङदेखि प्रतिनिधीहरु काठमाडौं कसरी आउने भन्नेमा अन्योलमा छन् । कालिकोट तथा ताप्लेजुङदेखिका प्रतिनिधीहरुलाई राजधानी आइपुग्न पाँच दिनको समय छुट्टाउने पर्ने हुन्छ । केन्द्रमै विवाद आजका मितिसम्म समाधान हुन नसकेपछि टाढाबाट आउने प्रतिनिधिहरुलाई समस्या भएको बताइन्छ ।





प्रतिक्रिया दिनुहोस्