काठमाडौं, साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिएपछि प्रधानमन्त्री चयनका लागि आजबाट बहुमतीय प्रक्रिया सुरु हुँदैछ ।
राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतिको सरकार गठनका लागि सात दिनको समय दिएकी थिइन् । तर, राष्ट्रपतिले दिएको समयसीमाभित्र दलीय सहमति हुन नसकेपछि आजबाट प्रधानमन्त्रीको चयन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्न लागेको हो ।
राष्ट्रपतिले आज बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गर्ने तयारी गरेकी छिन् । दिउँसो ३ बजे संसद् बैठक बस्नुअघि नै राष्ट्रपतिले बहुमतीय आधारमा प्रधानमन्त्री चयनको आह्वान गर्ने र संसद्मा पत्र पठाउने तयारी गरेको बताइएको छ ।
राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले यसबारे सदनलाई जानकारी गराएपछि संसद सचिवालयले निर्वाचन प्रक्रिया अघि बढाउने छ ।
सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिसकेका छन् ।
नेकपा एमालेले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा कुनै निर्णय गरिसकेको छैन । संसद् सचिवालयले बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
राजनीतिक घटनाक्रम आकस्मिक परिवर्तन नभएमा बुधबार दाहाल प्रधानमन्त्रीमा चयन हुनेछन् । बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउन कांग्रेस र माओवादीले गृहकार्य तीव्र पारेका छन् ।










प्रतिक्रिया दिनुहोस्