Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


‘सरकारको नेतृत्व चुनौतीपूर्ण’, के–के हुन् चुनौती ? यसो भन्छन् दाहाल


0
Shares

                                                            फाइल फोटो

ललितपुर, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार नेतृत्वको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन् ।

क्रान्तिकारी किसान संगठनको संयुक्त भेलाद्वारा आयोजित ‘क्रान्तिकारी किसान संगठनको ऐतिहासिक एकता राष्ट्रिय भेला’को सोमबार ललितपुरमा उद्घट्न गर्दै उनले अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने बताए ।

अबको सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गराउनु रहेको उनको धारणा थियो ।

संविधान कार्यान्वयन गर्नुपूर्व आमजनताको हितमा हुने गरी संविधानको संशोधन र परिमार्जन हुनु जरुरी रहेको उनको भनाइ थियो ।

उनले राष्ट्रलाई आन्तरिकरुपमा एकताबद्ध र सुदृढ गराइराख्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएकोसमेत बताए ।

गाउँपालिका, नगरपालिका, प्रादेशिक तथा संसदको निर्वाचन गराउनु सरकारको थप चुनौती हुनेसमेत उनले प्रस्ट पारे ।

उनले सुस्त अवस्थामा रहेको पुनःनिर्माण कामलाई तीव्ररुपले अघि बढाउनेसमेत प्रतिबद्धता व्यक्त गरे ।

देशको विभिन्न स्थानमा आएको बाढी–पहिरोले पीडित बनाएका जनताका लागि आवश्यक राहत र सहयोग गर्नु अर्को चुनौती भएको उनको धारणा थियो ।

यसैगरी, देशका हितमा हुनसक्ने दीर्घकालीन एवं ठूला आयोजना सुरु गर्नु पनि चुनौतीकैरुपमा रहेको उनले बताए ।

नयाँ सरकार निर्माणसँगै बेपत्ता छानबिन र सत्य निरुपण आयोगले गर्ने काम दू्रतगतिमा अगाडि बढ्नेमा उनको विश्वास रहेको थियो ।

विगतमा माओवादी पार्टी सरकारमा भएकै कारण सेना समायोजन र हतियार व्यवस्थापनको काम पूरा भएको उनले उल्लेख गरे ।

उनले नेपाल कृषिप्रधान देश भएकाले खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिमा नयाँ प्रविधिको प्रयोग गरिनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले आफ्नो पार्टी श्रमजीवी वर्गको पार्टी भएको बताए ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, अखिल नेपाल किसान संघ क्रान्तिकारी, अखिल नेपाल किसान संघ माओवादीलगायतका संगठन एक हुन लागेको कार्यक्रमका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए । रासस