
भक्तपुर, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।
व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोपेका थिए । निवास छोडेलगतै उनी व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँबानेश्वर गएका छन् ।
यसैबीच प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्दा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उनका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पुर्याउने तयारी गरेको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म उनलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताए ।
बालकोट चोक र प्रधानमन्त्री ओली निवास अगाडिको चोकमा धिमे बाजासहित उनलाई भव्य स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्