२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कांग्रेस-माओवादी केन्द्रबाट पहिलो चरणमा को-को हुँदैछन् मन्त्री ?


0
Shares

काठमाडौं, साउन २० । प्रधानमन्त्रीको सपथको समय तय भएलगत्तै कांग्रेस माओवादीमा मन्त्री बन्नेहरुको भीड पनि त्यत्तिकै बढेको छ ।

यसका लागि दाहालले आजै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । सुरुमा दुबै पार्टीबाट बढीमा तीन÷तीन जना सहभागि हुने गरी मन्त्रीको नाम पठाउने तयारी नेताहरुले गरेका छन् । मन्त्री छान्न दुबै दलमा आन्तरिक छलफल भइरहेका छन् ।

नेपाली कांग्रेसमा पार्टीको नेतृत्व गरेर सरकारमा जानेबीचको होडले अझै अन्तिम रुप पाइसकेको छैन । नेताहरु विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ यो दौडमा रहेको भए पनि सभापति देउवाको इच्छा निधितर्फ रहेको बताइएको छ । यद्यपि, टुंगो भने अझै लागि सकेको छैन ।

नेता केसीले नेतृत्व नपाए गृह मन्त्रालय पाउनुपर्ने अडान राख्नु भएको छ । पहिलो चरणमा मन्त्री हुनेमा निधि, केसीका अतिरिक्त डा. शेखर कोइरालाको नाम रहेको बताइएको छ । यसैगरी रमेश लेखकको नाम पनि पहिलो चरणमा मन्त्री बन्नसक्नेमा रहेको छ ।

उता, सरकारको नेतृत्वकर्ता माओवादीले पनि मन्त्री बन्नेहरुको नामलाई अन्तिम रुप दिन अहिले बैठक गरिरहेको छ । पहिलो चरणमा नेता कृष्णबहादुर महरा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जानेछन् ।

मन्त्री बन्ने आकांक्षीमा भने नेताहरु जनार्दन शर्मा, राम कार्की, प्रभु साह, रेखा शर्मा, हितराज पाण्डेलगायत रहेका छन् ।

महरालाई उपप्रधान एवं अर्थ तथा शर्मालाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएका छन् । ६ मन्त्रालय राप्रपा र अरु साना दलका लागि छुट्टाइएको छ ।