
काठमाडौं, वैशाख ५ । प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् ।
पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्यूज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानुनअन्तर्गत् पक्राउ परेको भनी नेपाल पत्रकार महासंघ र विभिन्न संगठनले विरोध गर्दै आएका थिए ।
न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको थियो ।
सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले यही वैशाख २ गते पोखराबाट पक्राउ गरेको थियो ।
प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानुनी प्रावधानविपरीत पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाइएकामा आपत्ति जनाइएको थियो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले काउन्सिलले गिरीको अनलाइन दर्ता नभएको भनी प्रहरीलाई गलत विवरण दिएका कारण समस्या उत्पन्न भएकामा न्यायालयले न्याय दिएकामा सन्तोष व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्