
काठमाडौं, साउन २३ । नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । २५ साउनसम्म चल्ने महाधिवेशनको नेपाली कांग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उदघाटन गर्ने कार्यक्रम छ ।
नेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित एक कोषाध्यक्षसहित एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन विधान संशोधनको प्रस्ताव पेश गरिँदैछ ।
दश वर्षपछि महाधिवेशनमा उत्रिएको नेविसंघमा नीति, शैक्षिक र विद्यार्थीका एजेण्डाभन्दा पनि चुनावी माहौल बढी देखिएको छ । महाधिवेशनस्थलमा विहानैदेखि सवारी साधन प्रवेशमा रोक लगाइएको छ भने विद्यार्थीबीचको विवाद उत्कर्षमा नपुगोस् भनेर सुरक्षा व्यवस्था पनि उत्तिकै कडा बनाइएको छ ।
लामो समय अधिवेशन नभएका कारण अध्यक्षलगायतका पदमा उमेदवारका आकांक्षीहरु निकै देखिएका छन् । पार्टी गूट र प्रभावशाली भनिएका नेतैपिच्छेका उम्मेदवार देखिएका छन् । अर्कातर्फ विधानमा आगामी महाधिवेशनदेखि ३२ वर्षको हद राखिएकाले पनि उम्मेदवारको संख्या बढेको हो ।
अध्यक्षमा नैनसिंह महर, मनोजमणि आचार्य, जितजंग बस्नेत, कुन्दन काफ्ले, दीपक भट्टराई प्रमुख दावेदार देखिएका छन् । यसैगरी अध्यक्षमा दावी गर्नेमा रत्न कार्की, सरोज थापा र राजीव ढुंगाना, आनन्द त्रिपाठी, नीलकण्ठ रिजाल र शुभराम बस्नेत पनि छन् ।
महाधिवेशनस्थलमा सुरक्षा चुनौतिलाई ख्याल गर्दै नेपाल प्रहरीले सीसी क्यामेराबाट निगरानी बढाएको छ । चार ठाउँमा सीसीक्यामेर जडान गरिएको छ ।
हलको बाहिर धेरै गतिविधि हुने स्थानमा सीसीक्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ । महाधिवेशनमा करिब दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
२०६४ सालमा प्रदीप पौडेल अध्यक्षमा निर्वाचित भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन । ६ महिनाभित्र महाधिवेशन गर्न २१ माघ २०६८ मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले रञ्जित कर्णलाई अध्यक्ष बनाएर जिम्मेवारी दिएपनि आठौं प्रयासमा बल्ल महाधिवेशन हुने स्थिति बनेको हो ।
प्रतिक्रिया दिनुहोस्