काठमाडौं, वैशाख ५ । दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।
मलेसियामा सम्पन्न एसिया छनोटमा उपविजेतामा सीमित भएपछि नेपाल बाहिरिएको हो ।
शीर्ष स्थानको टिमलेमात्र दक्षिण अफ्रिकाको टिकट काट्ने भएसँगै युएई छानिन सफल भएको छ ।
नेपालले युएईसित हार व्यहोर्दा बाँकी सबै टिमलाई पराजित गरेको थियो ।
बिहीबार अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्यो । कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा २८ ओभरमै पूरा गरेको थियो ।
रीत गौतमले ६२, पवन शर्राफले ५३ तथा आरिफ शेखले ३३ रन जोडे । रीत ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ४९ ओभर ४ बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।
नोमन बुद्रोले ७० रन बनाएको इनिङ्समा कप्तान रोहितकुमार पौडेलले ३ तथा कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले समान २/२ विकेट लिए ।








प्रतिक्रिया दिनुहोस्