
काठमाडौं, साउन २३ । विभिन्न दलका नेताहरुले कांग्रेस सांसद गगन थापा लगायतको अग्रसरतामा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता गराइएको सार्वजनिक महत्वको प्रस्ताव कै आधारमा कार्कीविरुद्ध महाअभियोग लगाउन नमिल्ने दाबी गरेका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा सासंद रामनारायण विडारीले अख्तियार दुरुपयोग अनुशन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने भन्नेबारेमा अफवाह फैलाईएको भन्दै उनीविरुद्ध महाभियोग लगाउनुको औचित्य नरहेको बताए ।
विडारीले अनशन बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि ध्यानाकार्षण पत्रको रुपमा संसदमा दर्ता भएको उल्लेख गर्दै भने, ‘डा. केसीको अनशन तोडिएसँगै यो प्रस्तावको औचित्यत सकिएको छ, त्यसैले च्याप्टर नै क्लोज भएको विषयलाई अतिरञ्जित पार्ने काम कसैबाट गरिनुहुँदैन ।’
नेकपा एमालेका नेता तथा सांसद डा. वंशिधर मिश्रले निहित स्वार्थ बोकेका संगठित व्यक्तिहरुले अख्तियार प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनुपर्छ भनेर अफवाह फैलाएको दाबी गरे । उनले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको औचित्य समाप्त भइसकेको स्पष्ट पारे ।
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले पनि संसदमा दर्ता भएको ध्यानकार्षण प्रस्तावमात्रै भएको बताउँदै भने, ‘यो महाअभियोगको प्रस्ताव हुँदै होईन, फजुलको चर्चा कमाउने काम मात्रै हो ।’
कर्णले अख्तियार मात्रै नभएर मुलुकका विभिन्न संवैधानिक निकायका प्रमुखहरुले केही गलत काम गरे त्यसको निर्क्यौल गर्न संसदीय समिति बनेको र त्यसले नै काम गर्ने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्