Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


ओलम्पिकमा कराते समावेश गरिने भएको खुशीयालीमा लुम्बिनीमा दीप प्रज्ज्वलन


0
Shares

काठमाडौं, साउन २३ । नेपाल कराते महासंघले भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा करातेलाई समावेश गर्ने निर्णयको स्वागत गरेको छ ।

नेपाल सितोरियो करातें महासंघका अध्यक्ष समेत रहेका कराते महासंघका अध्यक्ष दावा गुरुङको नेतृत्वको टोलीले आइतबार लुम्बिनीमा दीप प्रज्ज्वलन गरी निर्णयको स्वागत गरेको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गत बिहीबार चार वर्षपछि हुने ओलम्पिक खेलकुदमा करातेलाई पनि समावेश गर्ने निर्णय गरेको थियो ।

खेलकुदको महाकुम्भ मानिने ओलम्पिक खेलकुदमा करातेलाई समावेश गर्न लागिएको यो पहिलो अवसर हो ।

कराते महासंघले सोही निर्णयको लुम्बिनीमा दीप प्रज्वलन गरी स्वागत गरेको हो । सो कार्यक्रममा महासंघका अध्यक्ष गुरुङले टोकियो ओलम्पिकमा नेपाली कराते खेलाडीलाई धेरैभन्दा धेरै सहभागी गराउने उद्देश्यले तत्काल तयारी थालिने बताए ।

‘टोकियो ओलम्पिकमा कराते समावेश गरिनु हाम्रा लागि खुसीको कुरो हो । हाम्रा लागि अवसर पनि हो,’ गुरुङले भने, ‘हामी यो ओलम्पिकमा छनोट चरण पार गरेरै धेरैभन्दा धेरै नेपाली खेलाडीलाई सहभागी गराउने छौं । त्यसका लागी चाँडै नै तयारी थाल्ने छौं ।’

सोही कार्यक्रममा महासंघले विश्व शान्तिका लागि कराते भन्ने मुल नारा समेत तय गरेको छ । दीप प्रज्वलन कार्यक्रममा करातेका पूर्व विश्व च्याम्पियन एवं मोनाको कराते महासंघका निर्देशक एञ्जेलो स्पार्टाे, महासंघका सदस्य राजेश अधिकारी, कराते खेलाडी तथा प्रशिक्षक कुशल श्रेष्ठ, राम थारु, तारा गुरुङलगायत स्थानीय राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।