Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


सीमांकनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म सरकारमा जान्नौं : मोर्चा


0
Shares

                                                           फाइल फोटो

काठमाडौं, साउन २४। तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीनबुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसदको बैठकमा सोमबार बधाइ र शुभकामना दिँदै उनले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बनेपनि आफूहरुको लक्ष्य पूरा नभएको बताए ।

सीमांकनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने स्पस्ट गर्दै उनले देशमा अराजकता नहोस् भन्ने आफूहरुले चाहेको र मुलुकलाई सम्मानजनक निकास दिनुपर्ने बताए ।

सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले मधेसी, जनजाति र मुसलमानलाई अलग राखेर कसैले राष्ट्रवादको कुरा गरेमा एक राष्ट्रकोमात्र राष्ट्रवाद हुने बताउँदै सबै ‘असन्तुष्ट समुदायलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई सफलता मिलोस्’–भने ।

उनले मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, हिंसात्मक घटनाको छानबिनको प्रक्रिया आरम्भ भएकामा सरकारप्रति आभार व्यक्त गरे ।

कर्णले संविधान संशोधनको प्रस्तावमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरीले राष्ट्रिय सहमतिको यात्राका लागि कसैलाई निधेष गर्न नहुने बताए । रासस