३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


नेवि संघको महाधिवेशनमा के हुँदैछ ?


0
Shares

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा प्रतिनिधि छनोटमा देखिएको विवाद टुंगिएको छ ।

कांग्रेस नेता प्रकाशशरण महत संयोजकत्वको निर्देशक समितिले मंगलबार राति प्रतिनिधि छनोट विवाद टुंग्याएपनि महाधिवेशनको बन्दसत्र भने अझैपनि सुरु हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधिको विषयमा सैद्धान्तिक विवाद मिलेपनि व्यक्तिको नाम छनोट प्रक्रिया अझै नटुंगिएकाले बन्दसत्र सुरु हुन नसकेको हो ।

महाधिवेशनमा भाग लिन जिल्ला जिल्लाबाट आएका प्रतिनिधिहरु भने महाधिवेशन सुरु भएको चार दिन भइसक्दा पनि बन्दसत्र सुरु हुन नसकेकोमा आक्रोशित छन् ।

आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन आह्वान गर्दै अहिले भृकुटीमन्डप क्षेत्रमा नाराबाजी भइरहेको छ । कतिपयले तत्काल बन्दसत्र सुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

अब बन्दसत्र सुरु नै नभइ सीधै निर्वाचन कार्यक्रम अघि बढाउने तयारीसमेत भएको छ ।

अझै निर्वाचन समितिले मतदाता नामावली नपाएका कारण निर्वाचन कार्यक्रम पनि सार्वजनिक भएको छैन । उम्मेदवाहरु भने अहिलेपनि भोट माग्न व्यस्त छन् ।

नेविसंघको आगामी नेतृत्वका लागि झन्डै एकदर्जन आकांक्षी देखिएपनि अन्तिम अवस्थामा दुई वा तीनजनाबीच प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।

जसमा मनोजमणि आचार्य, नयनसिंह महर र कुन्दन काफ्ले मुख्य दाबेदारकारुपमा देखिएका छन् ।

महरलाई कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, आचार्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र काफ्लेलाई कांग्रेस नेता कृष्ण सिटौला र गगन थापालगायतको समर्थन रहेको छ ।