Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भोला रिजालसहितको चिकित्सकको टोली सप्तरी जाँदै


0
Shares

                                                                फाइल फोटो
काठमाडौं, साउन २६ । बाढी–पहिरोबाट पीडित जनताको स्वास्थ्य उपचारका लागि वरिष्ठ चिकित्सकको टोली सप्तरी जिल्ला जाने भएको छ ।

लामो समयदेखि परेको अविरल वर्षाका कारण सप्तरीबासीको स्वास्थ्य उपचारका लागि डा. भोला रिजाल नेतृत्वको विशेषज्ञ टोली आगामी शुक्रबार सप्तरी जाने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको समन्वयमा १५ जनाको टोलीले सप्तरीको तिलाठी गाविसको रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही गाउँका बिरामीको स्वास्थ्य उपचार गर्ने वरिष्ठ चिकित्सक तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अनिलकुमार झाले जानकारी दिए ।

सो क्षेत्रका स्थानीयबासीमा विशेषगरी ज्वरो आउने, कान दुख्ने, आँखा पाक्ने, झाडापखालालगायत बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएको हो ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने स्वास्थ्य परीक्षणमा स्त्रीरोग विशेषज्ञ डा. रिजाल, डा. झा, डा. रमेशप्रसाद सिंह, डा. नीरज पन्तसहितको टोली सहभागी हुनेछ ।

स्वास्थ्य उपचारकाक्रममा बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएमा काठमाडौंमा ल्याइ निःशुल्क शल्यक्रिया गर्ने योजना रहेको डा. झाको भनाइ छ । रासस