३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाको नाम सर्वसम्मत


0
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

उजुरीकर्ता र थपलियासँग छलफल गरेपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको थियो ।

समितिमा बुधबार भएको सुनुवाइमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित थपलियाले निर्वाचन आयोग सुधारका लागि आफ्नो कार्ययोजना पेश गरेका थिए  । 

सुनुवाइका क्रममा उनले तीन महिनाभित्र उपनिर्वाचन गर्ने, आयोगको पुनः संरचना, कानुनी पुनरावलोकन र सूचनापद्धतिको विकासलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

थपलियाले आफ्नो कार्यकालमा स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन गर्ने आधारहरु तयार पार्दै एक विश्वसनीय आयोगको रुपमा खडा गर्ने प्रतिबद्धता जनाए ।

थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेका थिए । तीमध्ये चारवटा उजुरीमा कर्मचारी समायोजनमा मनपरी गरेको आरोप लागेको थियो ।

थपलियाविरुद्ध उजुरी पेश गरेका  नेपाली काँग्रेस प्रदेश ३ का प्रदेश सभासभा सदस्य नरोत्तम वैद्येले आफ्नो उजुरीमा थपलियाले कर्मचारी समायोजनमा मनपरी गरेको आरोप लगाएका थिए ।

नेकपा निकट मानिने बहालवाला सचिवलाई प्रमुख निर्वाचन आयुक्त सिफारिस गरेर संवैधानिक प्रावधान र मूल्य मान्यताको धज्जी उडाउँदै निर्वाचन आयोगजस्तो निष्पक्ष संवैधानिक आयोगको निजामतीकरण गर्ने अभ्यास लोकतान्त्रिक प्रणालीको सिद्धान्तविपरीत रहेको वैद्यको भनाइ थियो ।

सुनुवाइ समितिको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।