
प्रतीक लामिछाने/उत्तम मानन्धर (इमेज)
काठमाडौं, साउन २७ । २०७२ सालमा गएका विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुलाई स्वरोजगार बनाउन सरकारले ट्याक्सी नम्बर दिने निर्णय गर्यो ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीयलाई १ हजार ५ सयओटा ट्याक्सीको नयाँ नम्बर वितरण गर्ने योजनाअनुसार अहिले निवेदन संकलन गर्ने काम भइरहेको छ ।
तर, बिहीबारसम्म यातायात व्यवस्था विभागमा ७० हजार निवेदन परिसकेको छ ।
सधैंजसो अस्तव्यस्त देखिने ललितपुरको एकान्तकुनास्थित यातयात व्यवस्था विभाग । बिहीबार बिहान साढे ९ बजेतिर पुग्दा त्यहाँको दृष्य विगतकोभन्दा थप अस्तव्यस्त थियो ।
भूकम्प प्रभावितका लागि सरकारले ट्याक्सी नम्बर दिने घोषणा त गर्यो, तर उनीहरुलाई बुझाउन सकेन वा प्रभावितले बुझ्न सकेनन् ? निःशुल्करुपमा ट्याक्सी पाउने आशामा राति २ बजेदेखि विभागमा लामबद्ध हुनेको संख्या बाक्लै छ ।
भदौ २ गतेसम्ममात्रै आवेदन संकलन गर्ने समय रहेकाले उनीहरु तँछाड–मछाड गर्दै फारम बुझाउन लाइनमा उभिएरहेका देखिन्थे । लाइनमा बस्ने र लाइन मिच्न खोज्नेहरु एक–आपसमा भौतिक आक्रमणमा उत्रिन खोजिरहेकासमेत देखिन्थे ।
ट्याक्सीको नम्बर लिन निवेदन बुझाउन भूकम्पप्रभावित स्वयं उपस्थित हुनुपर्ने नियमका कारण युवा–युवतीमात्रै होइन, महिला तथा जेष्ठ नागरिकको संख्या पनि बाक्लै थियोे लाइनमा ।
उमेरले ७० वर्ष नाघेकासमेत लाइनमै बसेर निवेदन बुझाइरहेका थिए र ट्याक्सी पाए आफैं चालक बन्ने इच्छाशक्ति उनीहरुमा देखियो ।
गाउँमा भत्किएको घर बनाउन राहत पाउने आशामा २ वर्षसम्म सरकारको बाटो हेरेर आजित बनेका भूकम्पप्रभावित वर्षामासमा अनेक आरोह–अवरोह झेल्दै एकपटक फेरि राजधानीमा आइपुगेका हुन् ।
१५ सय ट्याक्सीको नयाँ नम्बर वितरण गर्ने समयसकिन ५ दिन बाँकी हुँदा कम्तीमा ३० हजार निवेदन थपिने अनुमान गरिएको छ ।
आवेदक सबैलाई ट्याक्सी नम्बर दिन नसकिने भएपछि गोलाप्रथाबाट १५ सयजनाको नाम छनोट गर्ने तयारीमा विभाग जुटेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्