
काठमाडौं, साउन २७ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा मतदाता नामावलीको टुंगो नलाग्दा बन्दसत्र अझै सुरु हुन सकेको छैन । बन्दसत्र सुरु गर्ने विषयमा छलफल भइरहेको छ ।
तर, विद्यार्थी नेताहरुका फरक–फरक धारणाका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।
निर्वाचन समितिले शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइसकेको छ । विहीबार साँझसम्म पनि विद्यार्थी नेताहरुबीच सहमति जुट्न नसके बन्दसत्रबिनै निर्वाचन हुने बताइएको छ ।
निर्वाचन समितिले शनिबार मनोनयन दर्ता र शनिबारका लागि मतदानको समय तोकिसकेको छ ।
आइतबारदेखि सुरु भएको महाधिवेशन प्रतिनिधि विवादको निरुपण हुन नसक्दा अहिलेसम्म बन्दसत्र सन्चालन हुन नसकेको हो । पार्टीमा देखिएका तीन धार नेवि संघमा पनि देखिएको छ ।
पार्टी निर्देशक समितिले प्रतिनिधिको नामावली निर्वाचन समितिलाई बुझाएपनि अझै सार्वजनिक गर्न सकेको छैन । निर्देशक समितिले लगभग ३ हजार ५ सय प्रतिनिधिको नाम निर्वाचन समितिलाई बुझाएको छ ।
काठमाडौं आएको लामो समयसम्म पनि महाधिवेशनको प्रक्रिया अघि बढ्न नसकेपछि प्रतिनिधिहरु निराश बन्न थालेका छन् ।
अध्यक्षका लागि पार्टी सभापति शेरबहादुर देउवाको पक्षबाट नयनसिंह महर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य र नेता कृष्ण सिटौलाको समूहबाट कुन्दनराज काफ्ले प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्