
काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले संविधान कार्यान्वयन, शान्ति–प्रक्रियाको पूर्णता र संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न सरकार परिवर्तन गरेर नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्नुपरेको बताएका छन् ।
नेपाल प्रेस युनियनले नवनियुक्त मन्त्रीहरुलाई बधाइ दिन शनिबार मन्त्रीक्वार्टर पुल्चोकमा गरेको कार्यक्रममा मन्त्रीहरुले सत्तामा पुग्नमात्र नभइ एजेन्डाको संस्थागत् विकास गर्दै समस्या समाधानका लागि नयाँ सरकार गठन गर्नुपरेको स्पष्टीकरण दिएका हुन् ।
उनीहरुले शान्ति–प्रक्रियाको हस्ताक्षरकर्ता कांग्रेस र माओवादी भएका कारणपनि दुई दल नमिलेसम्म मुलुकका समस्या समाधान नहुने भएकाले आफूहरुले सहकार्य गरेको जिकिर गरे ।
प्रतिपक्षी दल नेकपा एमालेलाई पनि साथमै लिएर संघीय गठबन्धनसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गरिने उनीहरुको भनाइ थियो ।
उपपधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण उच्चस्तरीय हुने भन्दै भाारत भ्रमणको मुख्य एजेन्डा भारतीय राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपतिको भारत भ्रमण र दुई देशबीचका प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुने बताए ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सरकार गठन गरिएको भन्दै संविधान कार्यान्वयन नै सरकारको प्रमुख एजेन्डा रहेको बताए ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सुशासन, लोकतन्त्रको संस्थागत् विकास, आमपत्रकारिताको क्षेत्रमा वर्तमान सरकारले उल्लेख्य काम गरोस् भन्ने शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्