२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सरस्वतीले जापानमा भलिबलको एक महिने प्रशिक्षण लिने


0
Shares

काठमाडौं, साउन ३० । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिने भएकी छन् ।

उनले जापानको तुसुकुवा युनिभर्सिटीमा प्रशिक्षण लिने छिन् । जापानका भलिबल प्रशिक्षक सुन्जीयाना गिता, सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई र नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी देवनारायण चौधरीको पहलमा सरस्वतीले उक्त अवसर प्राप्त गरेकी हुन् ।

सरस्वती विभागीय टोली एपीएफ क्लबकी पहिलो रोजाईकी खेलाडी हुन् । प्रशिक्षणका लागि सरस्वती आईतबार जापान प्रस्थान गरेकी छन् । उनको प्रशिक्षण आगामी सेप्टेम्बर १५ सम्म चल्नेछ ।

सरस्वतीलाई जापान जाने, बस्ने र प्रशिक्षणका क्रममा लाग्ने सम्पूर्ण खर्च जापानी प्रशिक्षकले बेहोर्नेछन् । त्यसको साथै देवनारयणले समेत उनलाई सहयोग गर्नेछन् ।

‘खेलाडीको रुपमा जापानमा गएर प्रशिक्षण लिन पाउनु भनेको मेरा लागि ठूलो खुशीको कुरा हो । त्यहाँ सिकेको सिपलाई मैले राष्ट्रिय टोलीमा प्रयोग गर्न सक्छु भन्ने लागेको छ,’ सरस्वतीले भनिन्, ‘मलाई यो अवसर जुराई दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षण पछि मेरो खेलमा प्राविधिक निखारता आउनेछ भन्ने लागेको छ ।’

नेपाली भलिबल खेलाडीमध्ये सरस्वती वैदेशिक प्रशिक्षण पाउने दोस्रो खेलाडी हुन् । यसअघि उनै जापानी प्रशिक्षक सुन्जीयानाको सहयोगमा पूर्व राष्ट्रिय खेलाडी दुर्जकुमार राईले साँढे तीनमहिनाको वैदेशिक प्रशिक्षण लिने अवसर पाएका थिए ।

दुर्जकुमारको वैदेशिक प्रशिक्षण भने जर्मनमा भएको थियो ।

आइतबार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सरस्वतीलाई शुभकामना ब्यक्त गदै भने, ‘भलिबलले नाम र इज्जत दिएको छ, तिमी राष्ट्रको सम्पती हौ, कडा मिहनेत गरेर प्रशिक्षणमा खरो उत्रिने छौं ।’

काठमाडौं प्याब्सनका सचिवसमेत रहेका न्यूटन स्कुलका प्रिन्सिपल राम केसीले शुभकामना ब्यक्त गदै भने, ‘तिम्रो कुशलता र शीप तारिफयोग्य छ, नेपाली महिला टिम नै सन्तुलन छ । तर हामीले आशा गरेअनुसार परिणाम हासिल गर्न सकेको छैन । हाम्रो तयारी सन्तोष जनक नभएर हो, तिमी यो प्रशिक्षणबाट राष्ट्रको सफलता हात पार्ने छ ।’