
फाइल फोटो
काठमाडौं, साउन ३२ । सुरक्षाको पूर्णप्रबन्ध भएमात्र नेपाली कामदार अफगानिस्तान पठाउन सकिने सरकारले गठन गरेको एक कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ ।
केही समय पहिले १३ नेपालीको ज्यान गएको अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटको घटनाको छानबिनका लागि गठन भएको टोलीले दिएको प्रतिवेदनमा पूर्णसुरक्षाको प्रबन्ध नहुँदासम्म नेपाली कामदार पठाउन नसकिने र नहुने निष्कर्ष निकालेको छ ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको संयोजत्वकमा गठित कार्यदलले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदै द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन पूर्णरुपमा सचेतना अपनाउन सुझाव दिएको हो ।
सचिव लम्साल नेतृत्वमा सरकारले गत असार ९ गते उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।
प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको सुनिश्चिता गरेरमात्रै चौकीदारकारुपमा नेपाली कामदार पठाउनसकिने उल्लेख छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कार्यदलले दिएको सुझावलाई पूर्णरुपमा कार्यान्वयन गरिने र पूर्णरुपमा पालना गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाकाअनुसार प्रधानमन्त्रीले द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने विषय नै गम्भीर भएकाले त्यसमा पूर्णरुपमा सचेतना अपनाउनुपर्नेमा जोड दिए ।
‘विदेशमा रोजगारीका लागि गएका नेपालीको सुरक्षाको पूर्णप्रत्याभूति हुनुपर्छ भन्ने नै सरकारको धारणा हो । प्रतिवेदन अध्ययन गरेर यसबारेमा मन्त्रिपरिषदको बैठकमा छलफल गरी निर्णय गरिनेछ’–प्रधानमन्त्रीले भने ।
सो अवसरमा आपूर्तिमन्त्री एवं तत्कालीन श्रममन्त्री दीपक बोहोराले नेपाली कामदारको सुरक्षाका विषयमा सरकारले प्रभावकारीरुपमा कदम चाल्ने बताए ।
कार्यदलका संयोजक सचिव लम्सालले सरोकार भएका सबै पक्षको सहयोग एवं स्थलगत् अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्