
काठमाडौं, वैशाख २ । भारतबाट अवैधरुपमा काठमाडौं ल्याइएको ठूलो परिमाणको कपडासहित तीनजनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी बसका चालक सर्लाहीका श्याम विश्वकर्मा, सामान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभन दिएको आरोप लागेका सुर्खेतकी दीपा राना र नुवाकोटका भरत तामाङलाई सार्वजनिक गरेको हो ।
नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४२ नम्बरको यात्रीवहाक बसमा फल्सबटम बनाइ सामान ल्याएको सुराकीको आधारमा स्वयम्भूको चःमतीबाट प्रहरीले बस र सामान नियन्त्रणमा लिएको थियो ।
उनीहरुले बसको छत र सिटको पछाडी फल्सबटम बनाइ अवैधरुपमा लत्ताकपडा लुकाएर ल्याएका थिए ।
प्रहरीले बस र सामान नियन्त्रणमा लिएपनि चालक श्याम विश्वकर्मा भने फरार भएका थिए । पछि उनले प्रहरीलाई सम्पर्क गरी २१ लाख रुपैयाँको आर्थिक प्रलोभन देखाएको प्रहरीले दाबी गरेको छ ।
प्रहरीकाअनुसार चालक विश्वकर्मा प्रहरीसामु आउँदा भने तीन लाख ५० हजार रुपैयाँ बोकेर आएका थिए । प्रहरीलाई बुझाउन भनी उनले ल्याएको रकमसहित विश्वकर्मा समातिएका हुन् । उक्त रकम पनि प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले चालक विश्वकर्मा र उनका अरु दुईजना सहयोगीलाईसमेत पक्रन सफल भएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी वसन्त लामाले बताए ।
बरामद गरिएको लत्ताकपडाको बजार मूल्य ९१ लाख रुपैयाँ बराबर रहेको छ ।
पक्राउ परेका तीनैजनाविरुद्ध थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्