
काठमाडौं, भदौ ४ । रियो ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण पदक जर्मनीले जितेको छ ।
आज विहान भएको फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।
जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाइन् । स्वीडेनकी लिन्डा सेमब्रन्टले ६२ औं मिनेटमा आत्मघाती गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारिन् ।
स्वीडेनका लागि स्टीना ब्ल्याकस्टाइनिएसले ६७ औं मिनेटमा एक गोल फर्काइन् । हारेको स्वीडेनले रजत पदकमा चित्त बुझायो ।
ब्राजिललाई सेमिफाइनलमा हराएको स्वीडेन फाइनलमा जर्मनीसँग हारेको हो । जर्मनी भने क्यानडालाई हराएर फाइनलमा आएको थियो ।
उता क्यानडाले भने आयोजक ब्राजिललाई २–१ ले हराएर कास्य पदक जितेको हो । क्यानडाको जितमा डिएन रोज र क्रिष्टिन सिनक्लेएरले एक एक गोल गरे ।
ब्राजिलका लागि ७९ मिनेटमा बिएट्रिजले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।
क्यानडाले सन् २०१२ को लण्डन ओलम्पिकमा पनि महिला फुटबलमा कास्य पदक जितेको थियो । त्यसबेला क्यानडाले फ्रान्सलाई १–० ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्