३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


वैशाख १ गते मात्र फुल्ने सहलेश फूलः के छ चामत्कारिक रहस्य ?(भिडियो)


0
Shares

रामबाबु यादव/ईमेज

सिरहा । सिरहाको लहान नगरपालिकास्थित भोटियाटोलमा हरेक नयाँ वर्षको पहिलो दिन बैशाख १ गतेका लागि मात्र फुल्ने सहलेश फूलको चामत्कारिक रहस्य अझै उद्घाटित हुन सकेको छैन ।

प्राचीन सहलेश फूलबारीमा अवस्थित हारमको रुखमा रहेको यो फूुलसँग जोडिएको ऐतिहासिक पाटो झन् रोचक छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडरीया चोकदेखि दक्षिणतर्फ रहेको ऐतिहासिक फुलबारी जहाँ वर्षौदेखि एउटा विषय रहस्यकै रुपमा रहेको छ ।

फुलबारीभित्र रहेको हारमको रुखमा हरेक बैशाख १ का दिन एकाबिहानै सुनाखरी आकारको फुल फुल्छ र साँझपख एक वर्षसम्मका लागि ओइलाइहाल्छ ।

वषौँदेखि अनवरत देखिएको यो फूल अनुसन्धानकर्ताका लागि समेत रहस्यको विषय बनेको छ ।

ऐतिहासिक राजा जयबद्र्धन सलहेश र उनकी प्रेमिका मालिनीको प्रेम प्रतीकका रुपमा प्रत्येक नयाँ वर्षको पहिलो दिने एक जोडी माला देखिने गरेको किंवदन्ती भेटिन्छ । 

सलहेश र मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर प्रकट हुने जनविश्वास रहँदै आएको छ ।

सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) संँगै टाँसिएको सो रुख पनि छैटौँ शताब्दिदेखि उहीँ स्वरुपमा रहेको वनस्पतीविद्को भनाइ छ ।

फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतका विहार र पश्चिम बंगाल तथा नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा मानिस आउँछन् ।

जसले साँचो भावले प्रेम गर्छ त्यसको मनोकांक्षा पुरा हुने विश्वासमा कैयौँ युवायुवतीहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्छन् ।

राजा सहलेस दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ । 

राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँगाउँमा गीत र महराईमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ ।

राष्ट्रिय गौरवका रुपमा रहेको यस अनौठो फूलको राष्ट्रिय स्तरबाटै प्रचारप्रसार गर्नुपर्ने आवाज उठेपनि त्यो भनाइमै सीमित छ ।

नयाँ वर्षका दिन देखिने फुलको  यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यसो हुन सकिरहेको छैन ।