२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दैलेखको सीमांकन टुंगियो ! यस्तो छ प्रस्ताव


0
Shares

दैलेख, भदौ २० । स्थानीय तह पुनःसंरचनाअन्तर्गत् दैलेख जिल्लाको सीमांकनकार्य टुंगिएको छ ।

लामो छलफल र बहसपछि जिल्लामा पाँचओटा नगरपालिका र तीनओटा गाउँपालिका गठन गर्नेगरी सर्वसम्मतरुपमा टुंगाइएको बुझिएको छ ।

निर्वाचन क्षेत्र नम्बर–२ मा तीनओटा नगरपालिका साथै क्षेत्र नम्बर–१ मा दुईओटा नगरपालिका र तीनओटा गाउँपालिका रहने गरी जिल्लास्थित सर्वदलीय बैठकले टुंगो लगाएको हो ।

जिल्लाका सबै क्षेत्रबाट आएका सुझावसँगै हेरफेरसहित सीमांकन गरिएको साथै साविक नारायण र दुल्लुसँगै राकम कर्णाली, देवलोक, रानीमत्ता गरी पाँचओटा नगरपालिका र ज्वाला, वेस्तडा र नौमुले गरी तीनओटा गाउँपालिका प्रस्ताव पेस गरिएको छ ।

सदरमुकामको नगरपालिकालाई ४५ हजार र अन्य नगरपालिकालाई ३५ हजार जनसंख्या हुनुपर्ने निर्देशिकामा उल्लेख भएअनुसार नगरपालिकाको र गाउँपालिकाको हकमा २५ हजार जनसंख्या पुग्ने गरी प्रस्ताव गरिएको जिल्लास्थित सर्वदलीय समितिका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

दैलेख जिल्लामा प्रस्ताव गरिएका नगरपालिका र गाउँपालिकाको केन्द्रबिन्दू पनि सर्वदलीय बैठकले तोकेको छ ।

नगरपालिकाको हकमा राकमकर्णालीको तिलेपाटाको शीतलचौर, देवलोकको चामुन्डाको देउराली र रानीमत्ताको घोडावासलाई केन्द्रबिन्दू मानिएको छ ।

त्यसैगरी, गाउँपालिकाको हकमा ज्वालाको छिउडीबजार, नौमुलेको नौमुले बजार र वेस्तडाको विक्रमचौर तोकिएको छ ।

पुराना नारायण र दुल्लु गाविसको केन्द्रबिन्दू साविक नै मानिएको साथै नारायण नगरपालिकासँग इलाका नम्बर–२ र वेलपाटा गाविसलाई समाहित गरिएको छ भने दुल्लु नगरपालिकामा इलाका नम्बर–८ र इलाका नम्बर–७ का नाउलेकटुवाल र छिउडीपुसाकोट गाविसको आधा भूभाग समेटिएको स्रोतले जनाएको छ ।

रानीमत्ता नगरपालिकामा साविकको इलाका नम्बर–५ र ६ साथै देवलोक नगरपालिकामा साविकको इलाका नम्बर–९ समेटिएको छ भने राकमकर्णाली गाविसमा इलाका नम्बर–१० र ११ का सातओटा गाविस समेटिएको स्रोतबाट बुझिएको छ ।

गाउँपालिकाको हकमा वेस्तडामा इलाका नम्बर–४ का सात गाविस, नौमुलेमा इलाका नम्बर–३ का सातओटा गाविस र ज्वालामा इलाका नम्बर–७ का गमौडी, कालभैरव, गौरी, मालिका र छिउडीपुसाकोट गाविसको आधा भूभाग समेटिएको बुझिएको छ ।

जनजाति समुदायको बाहुल्यता रहेको नौमुले गाउँपालिकालाई विशेष संरक्षित गाउँपालिकाकारुपमा सिफारिस गरिने तयारी गरिएको जिविस स्रोतको भनाइ रहेको छ ।

सीमांकनका विषयमा नारायण, दुल्लु र देवलोक नगरपालिकाका वडा विभाजनमा सामान्य विवाद भएको बुझिएको छ ।

जिल्लाको सीमांकनका सन्दर्भमा राष्टिय जनमोर्चाले संघीयताको विषयमा फरक मत भएको भन्दै सहभागी नभएको जनाएको छ । रासस