२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितुवाले स्थानीयको घरमै जन्मायो तीनओटा बच्चा, भक्तपुरको सिरुटार क्षेत्र आतंकित


0
Shares

                                                           फाइल फोटो

भक्तपुर, भदौ २४ । अनन्तलिंगेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिंगेश्वर मन्दिरनजिकै रहेको ललितजंग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतंकित भएको छ ।

भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको थापाको घरको दोस्रो तलामा एक साताअघि आएको चितुवाले तीनओटा बच्चा जन्माएर राखेपछि यहाँका बासिन्दा आतंकित भएको स्थानीय प्रदीप कार्कीले जानकारी दिए ।

चितुवाले साँझ–बिहान घरबाट ओहोरदोहोर गर्न र खेतबारीमा जानसमेत समस्या परेको बताउँदै कार्कीले भने–‘बिहान घरको आँगनबाटै चितुवा हिँड्छ, दिउँसो बाँसको झाङ र मकैबारीमा चितुवा लुकेर बसेको देखिन्छ, खेतबारीमा काम गर्न र बच्चालाई स्कुल जानसमेत समस्या परिसक्यो ।’

स्थानीय ईश्वर बुढाथोकीले एकसातादेखि त्यस क्षेत्रमा चितुवा देखिन थालेको र पाँच दिनअघि थापाको घरमा चितुवाको बच्चा देखिएको बताए । घर वरिपरि नै चितुवा देखिन थालेपछि यहाँको बस्तीमा त्रास फैलिएको उनको भनाइ थियो ।

स्थानीयबासीले चितुवाका बच्चा देखेपछि प्रहरी र जिल्ला वन कार्यालयलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले चितुवाले त्यही घरमा आएर बच्चा जन्माएको बताउँदै चितुवाले आतंकित पारेको उजुरी स्थानीयबासीबाट आइरहेको बताए ।

जिल्ला वन कार्यालयलाई यसबारे जानकारी गराएको र बच्चासहित चितुवालाई लैजान आग्रह गरेको उनले जानकारी दिए ।

जिल्ला वन कार्यालय भक्तपुरका निमित्त प्रमुख न्हुछेंकृष्ण श्रेष्ठले चितुवाको तीनओटा बच्चा फेलापरे पनि चितुवा आसपासको झाडीमा लुकेर बसेकाले कसरी चितुवा समाउने भन्ने समस्या परेको बताए ।

उनले शुक्रबार वन विभाग र सदर चिडियाखाना गएर त्यससँग सम्बन्धित विज्ञलाई लगेर चितुवा समाउने प्रयास गरिने बताए । रासस