
काठमाडौं, भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञानलेमात्रै विकासलाई सुनिश्चित गर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँग भेट गर्न शनिबार बालुवाटार पुगेका गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको टोलीसँग प्रधानमन्त्री दाहालले गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्ने बताए ।
‘विज्ञानलेमात्रै विकासलाई सुनिश्चित गर्नसक्छ । गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्छ’–प्रधानमन्त्री दाहालले भने ।
प्रा.डा. राममान श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
टोलीमा नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजका प्रतिनिधि सहभागी थिए ।
गणित शिक्षामा ५० वर्ष अनवरत् सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गर्ने संस्थाको योजना रहेको टोलीले जानकारी गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्