१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


खाद्य पदार्थ प्याकेजिङ तथा लेबलिङ नियमावलीमाथि छलफल


39
Shares

काठमाडौं, भदौ २६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थ प्याकेजिङ तथा लेबलिङ नियमावली २०७३ को मस्यौदामाथि छलफल सुरु गरेको छ ।

विभागले काठमाडौंमा आइतबार छलफल आयोजना गरी सरोकारवालाहरुबाट राय सुझाव लिएको छ ।

मस्यौदामा ढाँट्ने वा झुक्याउने नियतले लेबलिङ गर्न नपाइने, स्वास्थ्यलाई हानी पुर्‍याउने प्याकेजिङ वस्तुको प्रयोग गर्न नपाइने, एउटा खाद्यलाई अर्को खाद्य भनी दिग्भ्रमित गर्न नपाइने, लेबल नउप्कने, नमेटिने, नछुट्टिने हुनुपर्ने व्यवस्था राखिएको छ ।

यस्तै लेबलमा दिइएका जानकारी प्रष्ट पढ्न, बुझ्न सकिने, दोहोरो अर्थ नलाग्ने हुनुपर्ने र पैठारी गरिएका खाद्य पदार्थका लेबल पनि देश भित्र लागू भएको प्याकेजिङ तथा लेबलिङ नियमावली अनुरुप हुनुपर्ने जस्ता प्रावधानहरु समावेश गरिएको छ ।

विद्यमान स्थितिको मूल्यांकन, प्याकेजिङ लेबलिङ सम्बन्धमा विभिन्न मित्रराष्ट्र एवं कोडेक्सका नियमावलीको अध्ययन, विभागसँगको परामर्शका साथै निजी क्षेत्रको परामर्शमा परामर्शदाता संस्था पेस नेपाल प्रा.लि.ले मस्यौदा तयार गरेको विभागले जनाएको छ ।

उद्यमी तथा उपभोक्तावादी संस्थाले मस्यौदाको स्वागत गर्दै थप गर्नुपर्ने सुझाव दिएका छन् ।