
बेइजिङ, भदौ २८ । चीनमा एक महिलाले सार्वजनिक स्थलमा एउटा पुरुषलाई कुकुर झैं डोर्याएर हिँडेको तस्वीर निकै भाइरल बनेको छ ।
पिपल्स डेली अनलाइनका अनुसार फुजिआन प्रान्तको फुझोउमा चार दिनअघि यस्तो दृष्य देखिएको हो । कुकुर बाँध्ने डोरीले एक पुरुषको घाँटीमा बाँधेर कुकुर झैं डोर्याउँदै हिँडेको दृष्यलाई सयौंले आश्चर्य मानेर हेरेका थिए ।
हातखुट्टा टेकेर ती महिलाको पछिपछि पुरुष विवस भएर हिँडेका देखिन्थे भने बेलाबेलामा ती महिलाले पुरुषको टाउको सुम्सुम्याएकी थिइन् ।
सडकमै यस्तो दृष्य देखिएपछि केहीबेर सवारी आवागमनमा समेत बाधा भएको थियो । कयौं सवारी साधनका चालकहरु उक्त दृष्य हेर्नका लागि आफ्नो सवारी साधन रोक्ने वा बिस्तारै हाँक्ने गरेका कारण सडकमा यातायात व्यवस्था प्रभावित भएको थियो ।
निकै बेरपछि सर्वसाधारणले ती महिलालाई सम्झाइ बुझाइ गरेर उक्त पुरुषको उद्धार गरेको बताइन्छ ।
यद्यपि ती महिलाले किन त्यसरी एक पुरुषलाई कुकुरलाई झैं डोर्याइन् भन्ने प्रष्ट हुन सकेको छैन । उनीहरुबीचको सम्बन्धका बारेमा पनि केही खुलाइएको छैन ।
चिनियाँ सरकारी संचारमाध्यमहरुका अनुसार प्रहरीले सवारी आवागमनमा बाधा पुर्याएको आरोपमा ती महिला र पुरुषलाई बयानका लागि बोलाउन सक्छ ।
चिनियाँ सामाजिक संजालमा उक्त तस्वीरका बारेमा धेरैले प्रतिक्रिया जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्