
काठमाडौं, भदौ २८ । आपूर्तिमन्त्री दीपक बोहराले यसपालिको दसैं एवं तिहार मूल्यबृद्धिरहित हुने दाबी गरेका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चको ११औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा मन्त्री बोहराले सरकारले अनुगमनलाई तीव्रता दिएकाले यसपालिको दसैं–तिहार जस्ता पर्वमा उपभोक्ताले मूल्यबृद्धिको समस्या भोग्न नपर्ने दाबी गरेका हुन् ।
उनले उपभोक्ता हितलाई नियमन गर्ने १० ओटा निकायलाई एकीकृत गरेर एउटै कानुन बनाउनमा आपूर्ति मन्त्रालय लागेको पनि बताए ।
आर्थिकरुपमा दन्डको परिमाण नबढाएसम्म उपभोक्ता ठगिनेक्रम नरोकिने उनले उल्लेख गरे ।
आर्थिकदन्ड १० देखि २० लाखसम्म तथा १० वर्षसम्मको सजायको व्यवस्था गरेमामात्र जनतालाई ठग्ने काम रोकिने उनको भनाइ छ ।
उनले बजारमा अनियमितता भएको ठाउँ देखाइदिए मन्त्रालयले कारबाही गर्ने बताए ।
अहिले बजार अनुगमन कमजोर नभएको तथा कारबाही नरोकिएको पनि मन्त्री बोहराले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्