भीमदत्तनगर, चैत २६ । जमिनको सीमा विवाद हुँदा कन्चनपुर, लालझाँडी गाउँपालिका–१ का ५० वर्षीया बासमती रानाको हत्या भएको छ ।
सोमबार स्थानीयवासी २५ वर्षीय निरज रानाले बासमतीको टाउकोमा कोदालोको बींड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
प्रहरीले घटनाका अभियुक्त रानालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँदै शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ ।
‘विप्लव’का नगरसचिव पक्राउ
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का भीमदत्त नगरपालिकाका नगरसचिव रघुवीर जोशीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले नगरसचिव जोशीलाई भीमदत्तनगरपालिका–९, मटेनास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया दिनुहोस्