Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ आजदेखि सुरु


0
Shares

काठमाडौं, असोज ८ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता एभरेष्ट प्रिमियर लिग इपिएल आज(शनिबार)देखि सुरु हुँदैछ ।

१७ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिम सहभागि छन् । प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

जोहरा स्पोर्टस म्यानेजमेण्टको आयोजनामा हुन लागेको प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रतियोगितामा सहभागी हरेक टिमले कम्तिमा पाँच खेल खेल्नेछन् ।

पञ्चकन्या तेजको नेतृत्व शरद भेषावाकर, विशाल वारियर्सको नेतृत्व पारस खड्का, जगदम्बा राइनोजको नेतृत्व शक्ति गौचन, कलर्स एक्स फ्याक्टर्सको नेतृत्व ज्ञानेन्द्र मल्ल कान्तिपुर गोर्खाज्को नेतृत्व वसन्त रेग्मी तथा सगरमाथा लिजेन्ड्सको नेतृत्व विनोद भण्डारीले सम्हाल्दैछन् ।

इपिएल क्रिकेट प्रतियोगितालाई लैंगिक हिंसाविरुद्धको अभियानको रुपमा प्रयोग गरिने जनाइएको छ ।

लैंगिक हिंसाविरुद्ध काम गर्दै आएको साथी नेपालसँगको सहकार्यमा प्रतियोगितालाई सामाजिक हितमा प्रयोग गरिने आयोजकले जनाएको हो । उदघाटन खेल कीर्तिपुर मैदानमा हुनेछ ।