
काठमाडौं, असोज १० । न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत १९७ रनले विजयी भएको छ ।
भारतको कानपुरमा भएको खेलमा ४३४ रनको चुनौती पछ्याएको न्यूजिल्यान्डले २३६ रनमात्र बनाउन सकेपछि फराकिलो हार व्यहोरेको हो ।
सोमबार अन्तिम दिन ४ विकेटको क्षतिमा ९३ रनबाट अगाडि खेलेको न्यूजिल्यान्डका लागि लुक रोन्चीले ८० तथा मिचेल सान्तनरले ७१ रन जोडे ।
पहिलो इनिङमा ४० रन बनाउँदै ४ विकेट लिएका भारतका अलराउन्डर रविचन्द्रन आश्विनले दोस्रो इनिङमा ६ विकेट लिए ।
त्यसैगरी, पहिलो इनिङमा अविजित ४२ रन बनाउँदै ५ विकेट लिएका म्यान अफ द म्याच रविन्द्र जडेजाले दोस्रो इनिङमा अविजित ५० रन जोड्दै १ विकेट लिए ।
यसअघि, खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ३१८ रन बनाउँदै न्यूजिल्यान्डलाई २६२ रनमै रोकेको थियो ।
दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३७७ रन बनाएर भारतले ४३४ रनको चुनौती दिँदै इनिङ समाप्तिको घोषणा गरेको हो । यो खेलमा कुनैपनि खेलाडीले शतक प्रहार गरेनन् ।
तीन खेलको टेस्ट शृंखलाको दोस्रो खेल असोज १४ गते शुक्रबारदेखि कोलकातामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्