
काठमाडौं, असोज ११ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् मंगलबारका खेलमा च्यासल युथ क्लब, एनआरटी र टुसाल युथ क्लब विजयी भएका छन् ।
च्यासलले खुमलटार युथ क्लबलाई ३–० ले हरायो ।
एनआरटीले श्रीकुमारी क्लबलाई १–० ले पराजित गर्यो भने टुसालले सामाजिक युथ क्लबलाई ४–० ले हरायो ।
यी खेलपछि ११ खेलबाट २२ अंक जोडेको च्यासल शीर्ष स्थानमा रहेको छ । त्यस्तै, एनआरटी पनि ११ खेलबाट समान २२ अंकसहित गोलअन्तरमा पछाडि पर्दै दोस्रो स्थानमा छ ।
कुमारी क्लब भने २१ अंकसहित तेस्रो स्थानमा झरेको छ । एक खेल कम खेलेको आरसीटीको २० अंक छ ।
१४ टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टिम ‘ए’ डिभिजनमा पुग्नेछन् भने पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् ।
शीर्ष स्थानमा रहेका क्लबहरुले दुई खेल खेल्न बाँकी छँदा पनि ढुक्क हुने अवस्था नरहेकाले लिग रोमान्चक बनेको छ ।
त्यस्तै, एक खेलमात्र जितेको महावीर क्लब भने पुछारमा रहँदै रेलिगेसनमा पर्ने निश्चितजस्तै भएको छ ।
प्रतिक्रिया दिनुहोस्